FLASH NEWS
  • Loading...

नेपालमा संक्रमण अझै धेरै बढ्छ : डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८५ पटक पढिएको
नेपालमा संक्रमण अझै धेरै बढ्छ : डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलर

नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड-१९ विरूद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरेका छन्। सीमित स्रोत साधनको बीच संक्रमणलाई समुदायस्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको पनि उनले बताएका छन्। अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम बढेको डब्लुएचओले बताउँदै आएको छ।

अहिले कोरोनाको कहरमा छौं हामी। विश्वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ ? कस्तो छ नेपालको अवस्था ?

अहिले विश्वव्यापी दृटिकोणबाट हेर्दा युरोपमा कोरोनाको संक्रमण घटिराखेको छ भने संयुक्त राज्य अमेरिकामा अझै बढिराखेको देखिएको छ। अफ्रिकामा पनि संक्रमण विस्तारै बढ्दै गएको देखिन्छ। नेपालमा पनि बढ्दै गएको देखिएको छ। अहिले बढ्नुको कारण धेरै केसहरूको पहिलाभन्दा रिपोर्टिङ भइराखेको छ। नेपालको केसमा एउटा विशेष कुरा के छ भने नेपालमा समुदायस्तरको संक्रमण भन्दा पनि विदेशबाट फर्कने व्यक्तिहरूमा बढी संक्रमण देखिएको छ। त्यसैले अहिले हामीले देखिएका केसहरू क्वारेन्टाइन स्थलहरूबाट बढी आएका छन्। विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरूमा र अन्य देशहरूबाट फर्केका व्यक्तिहरूमा देखिएको छ।

अब नेपालले विश्वलाई कसरी हेर्नुपर्छ अर्थात् नेपालले विश्वलाई यही महामारीको बारेमा कसरी हेरिरहेको छ जस्तो लाग्छ तपाईलाई?

महामारीले कुनै पनि सीमा भन्दैन। यो विश्वव्यापी कुरा हो। त्यसैले कुनै पनि सीमाले यसलाई रोक्ने कुरा हुँदैन र नेपालले हेर्दा नेपाल पनि यो विश्व परिवेसको एउटा हिस्सा हो भनेर हेर्न जरूरी छ। किनभने, हामीले देखिराखेका छौं संक्रमणहरू बाहिर देशबाट फर्किएको व्यक्तिहरूमा देखिएको छ। फेरि भारतबाट फर्केका व्यक्तिहरूमा मात्र नभएर अन्य देशबाट पनि फर्किराखेका नेपालीहरूमा पनि देखिराखेको छ। यसबाट हामीले के बुझ्नुपर्छ भने कुनैनकुनै बखतमा यो रोग नेपाल आउनेवाला थियो।

अव आउने दिनहरूमा केसहरू एकदमै धेरै नै बढ्नेवाला छ। त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु। विशेषगरी परीक्षणहरूको संख्या बढाउनको लागि आगामी महिनाहरूमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ।

नेपालमा आएको भाइरसले अणुवांशिक परिवर्तन गरिसकेको हो अथवा यहीँको स्थानीय भाइरस बनिसकेको हो? यसबारे डब्लुएचओले कुनै अनुसन्धान गरेको छ?

नेपालमा अहिले लक्षणरहित केसहरू एकदम धेरै देखिएका छन्। मान्छेहरूलाई स्वस्थ नै छु जस्तो भइराखेको छ। उनीहरूलाई खोकी पनि लागेको छैन, केही पनि भएको छैन, तर कोरोनाको संक्रमणचाहिँ भइराखेको भनिएको छ। यो हुनुको कारण एउटा के हो भने नेपालमा धेरैजसो केस युवामा देखिएको छ। कम उमेरका मानिसमा देखिरहेको छ। ती मानिसहरू प्रायःजसो भारतमा काम गरिराखेका र भारतबाट फर्किएका व्यक्तिहरू हुन्। अहिले परीक्षण भइरहेको पनि उनीहरूमा बढी हो। यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन। किनभने कोरोनाको संक्रमण विशेषगरी युवाहरूमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ। नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरूमा धेरै केसहरू देखिसकेका छैनौं र भोलि देखियो भने फरक कुरा हुन्छ।

अहिले सरकारको लागि प्रमुख मुद्दा भनेको त्यसलाई कसरी सन्तुलनमा ल्याउने, भाइरस नियन्त्रणको कुरा र अर्थतन्त्रमा मानिसहरूलाई अब काममा जानुपर्ने छ, आफ्नो कमाइ गर्नुपर्ने छ ती कुराहरूलाई कसरी सन्तुलन गर्ने भन्ने हो। नेपालमा यो अब कसरी जान्छ भन्ने कुरा देख्न बाँकी छ। यदि, केसहरू बढ्दै गयो भने लकडाउन फेरि लाग्न पनि सक्छ। यो खुला नै गरिन्छ भन्नेचाहिँ छैन। यो कुरा मनन गर्नुपर्छ।

नेपालमा नयाँ खाले भाइरसभन्दा पनि हामीले देखेका संक्रमणका केसहरू फरक हुन्। फरक के हो भने हामीले जुन केसहरू देखिराखेका छौं त्यो बिरामीको प्रोफाइल र विवरण फरक देखिएको हो।

क्वारेन्टाइनमा राखेका व्यक्तिलाई आरडिटी वा पीसीआर कुनै पनि जाँच परीक्षण नगरी पठाउनेबारे डब्लुएचओको कुनै गाइडलाइन छ? 

हामीले क्वारेन्टाइनमा राख्ने भनेको व्यक्तिमा यदि भाइरस भएकै भए पनि १४ दिनसम्ममा भाइरस मरिसक्छ, त्यसले उक्त व्यक्तिले अरू कसैलाई त्यो संक्रमण सार्न सक्दैन भन्ने हो। व्यक्ति पनि निको भइसकेको हुन्छ। तसर्थ, हामीले यदि लामो समयसम्म कुनै पनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समुदायमा अथवा घरमा पठाउँदा पनि भाइरस संक्रमण हुने सम्भावना रहँदैन। हामीले यदि क्वारेन्टाइन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन। तर, क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपायहरू छन्। एउटा सबै मान्छेहरूलाई एक ठाउँमा लिएर आउने सम्भावित व्यक्तिहरूलाई र उनीहरूलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने। अर्को उपाय भनेको घरमै पनि कुनै पनि व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ। घरमा राख्दा उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यहरूलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ। तसर्थ परिवारका अन्य सदस्यहरूभन्दा दूरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै शौचालय प्रयोग गर्नेलगायतका सुविधाहरू हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ।

कोभिडको महामारी नियन्त्रणमा नेपालका सवल पक्षहरू के पाउनुभयो? यो विषयमा अलिकति सुधार्न पाए अझ राम्रो हुने थियो भन्ने तपाईंलाई लागेको केही छ? 

मैले नेपालमा काम गरेको पाँच वर्ष भयो। त्यसैले मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा केही हदसम्म जानकारी हासिल गरेको छु। नेपाल सरकारले लकडाउन लागु गर्न एकदमै छिटो गर्‍यो। आंशिक रूपमा त्यो एउटा कारण हो, जसले गर्दा अहिले सामुदायिकस्तरमा संक्रमण कम देखिएको छ। सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो। त्यसले गर्दाखेरी अहिले समुदायस्तरमै त्यति धेरै संक्रमण फैलिराखेको छैन र अहिले परीक्षणको संख्या पनि प्रत्येक दिन बढिराखेको छ। अर्को कुरा सरकारले यो लकडाउनको समय अवधिलाई चाहिँ आफूलाई अझ राम्रोसँग तयार गर्नको लागि प्रयोग गरेको छ। धेरै काम भएका छन्। विशेषगरी हामीलाई चाहिने सामग्रीहरू खरिद गर्न, कोभिडको लागि भनेर हस्पिटल तोक्ने कुरा, त्यसैगरी कर्मचारीलाई तालिम दिने, विभिन्न मार्ग निर्देशिकाहरू जारी गर्ने कुरामाचाहिँ सरकारले राम्रो काम गरेको छ।

नेपाल एउटा निम्न आय भएको देश हो। त्यसले गर्दा हामीले त्यही परिप्रेक्षमा हेर्नुपर्ने हुन्छ। हाम्रो सामान्य अवस्थामै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सीमितताहरू हुन्छन्। सामग्री तथा जनशक्ति हुँदैनन्। त्यसैले हामीले नेपाल जस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाज्न नमिल्ने हुन्छ। अव आउने दिनहरूमा केसहरू एकदमै धेरै नै बढ्नेवाला छ। त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु। विशेषगरी परीक्षणहरूको संख्या बढाउनको लागि आगामी महिनाहरूमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ।