- Loading...
कोरनाले भत्काउँदै सामाजिक भावना, संक्रमण नभएको पुष्टी भएपनि गाउँपस्न पाएनन
- पुनहिल डट कम
- ४ साल अघि
- १४३ पटक पढिएको
नेपाली समाजमा लाहुरे संस्कृति नौलो होईन । दुई सय बर्ष अघि नालापानी युद्धमा पराजित वलभद्र कुँवर पलायन भै पन्जावका राजा रणजित सिंहको सेनामा भर्ति भएदेखी ‘लाहोर’ (हाल पाकिस्तान)मा भर्ति हुन जानेक्रम सुरु भएको हो ।
लाहोरको सेनाबाट फर्केकालाई ‘लाहुरे’ भन्न थालियो । पछि विट्रिश गोर्खा सेना र भारतिय गोर्खा सेनालाई लाहुने हुँदै अन्य काम गर्नेलाई पनि कलकत्ते लाहुरे, मद्रासे लाहुरे, बम्बैया लाहुरेबाट खाडी मुलुकमा रोजगारी खुलेपछि अरवे लाहुने, लाहुरे शब्द प्रचलनमा छ ।
‘लाहुरे’को नेपाली ग्रामिण समाजमा शान छुट्टै थियो । अस्तिसम्म विदेशबाट ‘लाहुरे’ घर फर्कन नपाउँदै समुदायले फुलमालाले स्वागत गर्न बाटोमा पुग्थ्यो । आफन्त र साथीभाई वरपर झुमिन्थे तर समयचक्रसँगै ‘लाहुरे’लाई समाजले गर्ने ब्यवहार एकाएक फेरिएको छ । लाहुरेले पठाएको रेमिटेन्सले बाँचेको परिवार मात्र होईन चन्दाले तलवभत्ता खाएको शिक्षक परपर भएका छन । समाज, साथीभाई र आफन्त नै पर–पर तर्कन थालेको छ ।
विश्वभर फैलिएको कोरना भाईरसको महामारीले स्वास्थ्य गम्भीर समस्या मात्र ल्याएको छैन, नेपाली मौलिक सामाजिक सम्बन्धमा पनि दरार ल्याउन थालेको छ । कोरना भाईरस ल्याउने भन्दै समाजले विदेशबाट फर्केका ‘लाहुरे’हरुलाई गाउँ पस्न दिएका छैनन । पिसिआर विधीबाट परिक्षणगरी कोरना संक्रमण पुष्टी नहुँदा पनि समुदायले उनीहरुलाई सहज स्वीकार गरेको छैन ।
विदेश (भारत)बाट फर्केर सदरमुकामको क्वारेन्टाईनमा बसेर रित पुर्वक पिसिआर विधीबाट स्वाब परिक्षणमा कोरना नलागेको पुष्टी भएपछि पनि एक साता क्वारेन्टाईनमा बसेर घर फर्केका म्याग्दीका ८१ जनालई समाजले सहज स्वीकार नगरेको हो ।
‘बेनीमा ७ दिन क्वारेन्टाईनमा राखेर, पिसिआर टेष्ट (कोरना परिक्षण) गरी पुनः गाउँपालिकाको क्वारेन्टाईन राखेर घर पठाएका ब्यक्तिलाई समुदायले गाउँ/घर भित्रन नदिएका छैनन’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या.डमबहादुर गर्वुजाले भने, ‘कोरना संक्रमण भएको छैन भन्ने पुष्टी भएको छ । घरमै एकान्तवास राखौं भन्दापनि समुदायले मानेको छैन ।’
गापा अध्यक्ष गर्वुजाका अनुसार क्यारेन्टाईनबाट घर फर्केका अन्नपूर्ण गापा, ३ दानाका ७ जना, ४ नारच्याङका १ जना, ५ पाउद्धारका १ जना र ७ हिस्तानका ७ जनासमेत ११ जनालाई समुदायमा समायोजन हुन समस्या परेको छ । उनीहरुलाई केहीलाई वडा कार्यालय त कतिलाई गाउँदेखी पर, रिक्ता घर र गोठमा राखिएको छ ।
अन्नपूर्ण गाउँपालिकामा मात्र होईन, सदरमुकाम रहेको बेनी नगरपालिका ३ भकिम्ली, ४ सुर्केमेला तथा मालिका र मंगला गाउँपालिकामा पनि ‘लाहुरे’हरुलाई कोरना नलागेको पुष्टी भएपछि पनि समुदायले घर फर्कन दिएका छैनन ।
‘दुई पैसा कमाउन परदेश पुगेकाहरु त्यहाँ समस्यामा परेपछि अपनत्व महसुस गरी आफ्ना खोज्दै गाउँ फर्केको हो । गाउँमा फरक ब्यवहार हुँदा मन कुँडिन सक्छ । तर गाउँले/आफन्तले घृणा गरेका होईनन, कोरनाको डर, त्रासले गर्दा तर्केका हुन । यो क्षणिक ब्यवहार मात्र हो’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख रहेका समाजशास्त्री गोरखबहादुर जिसीले भने, ‘बरु कोरनाको महामारी लम्बिदै गयो भने हाम्रा संस्कार, संस्कृति, सामाजिक मुल्यमान्यतामा केही फेरिन सक्छन । फागु, चैते देशैं, नयाँ बर्ष झै जनैपूर्णिमा, तीज र दशैंको रौनक र तौरतरिकामा प्रभाव पर्न सक्छ ।’
मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार बेनीमा ७ दिन क्वारेन्टाइन बसेर कोरना परिक्षणमा नेगेटिभ आएकालाई गाउँपालिकाको छुट्टै थप ७ दिन क्वारेन्टाईनमा राखेपछि ५ जनालाई होम क्वारेन्टाइृन बस्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराई घर पठाएको छ । ८ जना अझै क्वारेन्टाइनमा छन ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीको अभिलेख अनुसार जेठ ८ गते यता भारतबाट ८१ जना भारतबाट फर्केर क्वारेन्टाईमा बसेपछि पिसिआर टेष्ट गर्दा कोरना संक्रमण नदेखिएपछि घर फर्केका छन । तीन जनामा भने कोरना संक्रमण देखिएकोले बेनी स्थित आईसोलेसनमा राखी उपचार भैरहेको छ ।
मंगलवार दिउँसो ३ बजेसम्म बेनीका म्याग्दी क्याम्पस र न्यू वेष्टपोईन्ट कलेजमा रहेको क्वारेन्टाईनमा भारतबाट फर्केका ८९ जना र साउदी अरवबाट उद्धार गरिएका १ जना रहेका छन । क्वारेन्टाईनमा रहेकामध्य १० जना मंगलवार मात्र भारतको गड्डाचौकी नाकाबाट यहाँ ल्याईएका हुन ।
‘तीन महिनादेखी कडा लकडाउन गरी बसेको समुदाय कतै विदेशबाट फर्कनेबाट कोरना संक्रमण भित्रन्छ कि भन्ने त्रासमा छ । पल्लो गाउँबाट मान्छे रोकेका गाउँले विदेश (भारत)बाट भन्दा डराउँछन । जतासुकै भारतबाट फर्केकालाई कोरना संक्रमण देखिएकोले यस्तो भएको हो’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, ‘अरुको के कुरा गर्ने मेरै आफन्तलाई गाउँदेखी पर रिक्तो धन्सारमा राखेका छन ।’