- Loading...
के पीसीआर मेसिन किन्दैमा परीक्षणको दायरा बढ्छ ?
- पुनहिल डट कम
- ४ साल अघि
- १०६ पटक पढिएको
पीसीआर (पोलिमरेज चेन रियाक्सन) परीक्षण नगरी आरडीटी परीक्षणमा मात्र भर पर्न नहुने भन्दै अहिले असन्तुष्टि बढेको छ।
पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सडक प्रदर्शन पनि भएका छन्। यसैबीच सरकारले पीसीआर परीक्षणको दायरा बढाउने तयारी गरेको छ।
अहिले देशभर २० वटा प्रयोगशालामार्फत भइरहेको परीक्षणको दायरा बढाउन अन्य प्रयोगशालाको प्रयोग पनि बढाउने तयारीमा छ सरकार।
त्यसका लागि निजी क्षेत्रको प्रयोगशालासँग सहकार्य गर्ने, प्रहरी र नेपाली सेनाको अस्पतालमा रहेका प्रयोगशाला पनि प्रयोगमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ। त्यस्तै केही स्थानीय तह तथा जिल्लाहरूले पनि पीसीआर परीक्षण दायरा बढाउन लागि आफ्नै स्रोतमा पोलिमेरज चेन रिएक्सन (पीसीआर) मेसिन किन्ने प्रक्रिया थालेका छन्।
यो मेसिन किन्नका लागि २५ देखि ३० लाख रूपैयाँसम्म पर्छ। स्थानीय तहले उक्त रकम जुटाएर तत्काल किनेर ल्याब सञ्चालनको प्रक्रिया समेत अगाडि बढाइसकेका छन्।
विशेषगरी सुदूरपश्चिम प्रदेशमा यस्तो प्रक्रिया शुरू गरिएको छ। प्रदेशमा रहेको एकमात्र प्रयोगशालामा आवश्यकता अनुसार द्रुत गतिमा परीक्षण हुन नसकेपछि स्थानीय तहहरू आ-आफैले मेसिन किन्न थालेका हुन्।
के मेसिन किन्दैमा परीक्षण सहज हुन्छ त ?
विज्ञहरू पीसीआर मेसिन किन्दैमा परीक्षणको दायरा बढ्ने सुनिश्चित नहुने बताउँछन्। सिंगो परीक्षण प्रणालीमा पीसीआर मेसिन आवश्यक उपकरण मात्र हो। त्यसबाहेक अन्य ९० प्रतिशत प्रक्रिया हुने विज्ञहरू बताउँछन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार मेसिन किन्नु भनेको १० प्रतिशत मात्र काम हो। परीक्षणका लागि सबैभन्दा महत्वपूर्ण बायो सेफ्टी ल्याब-२ (BSL-2) आवश्यकता पर्छ।
यो प्रयोगशाला अन्यभन्दा जटिल प्रकृतिको हुन्छ। त्यहाँ सम्बन्धित कर्मचारी बाहेक अरुलाई प्रवेशको अनुमति दिइदैन्। काम गर्ने कर्मचारीहरू २४ घण्टा नै पूर्ण सुरक्षित हुनुपर्छ। पीपीई सेट लगाउनु पर्ने, ल्याबबाट बाहिर आएपछि नुहाउनुपर्ने, भित्र प्रवेश गर्दा सबै कपडा खोलेर पीपीई मात्र लगाउनुपर्छ।
त्यस्तै बायो सेफ्टी क्याबिनेट/लमिनार फ्लोहूड क्याबिनेट र मोलिक्युलर माइक्रोबायोलोजिष्ट वा भाइरोलोजी (Bio-safety cabinet/ Laminar Flowhood cabinet and molecular microbiologist / virologist) जस्ता तालिमप्राप्त विज्ञ प्रयोगशालाकर्मी र सहयोगी कर्मचारी चाहिने डा. झा बताउँछिन्।
चौबिसै घण्टा कोरोना भाइरससँगै रहनुपर्ने भएकाले संक्रमणबाट जोगिन अन्य उपकरण पनि आवश्यक पर्ने डा. झा बताउँछिन्।
२ देखि ८ डिग्री सेन्टिग्रेट क्षमताको फ्रिज, ‘-२०’ देखि ‘-८०’ डिग्री सेन्टिग्रेटसम्म तापक्रम भएको डिफ्रिजको आवश्यकता पर्छ।
जाँचका लागि आवश्यक किट, रियाजेन्ट्स, अन्य आधारभूत प्रयोगशालाका मेडिकलजन्य औजार तथा उपकरणहरू, चौविसै घण्टा विद्युतीय सुविधा, पूर्ण वातानुकूलित प्रयोगशाला भवन समेतका व्यवस्था भएमात्र प्रयोगशाला स्थापना गर्न सकिने उनको भनाई छ।
news source – https://www.dekhapadhi.com/news/15043