- Loading...
एउटा रहस्य जसको जगमा, राज्य-संरचना बदलियो
- पुनहिल डट कम
- ४ साल अघि
- १६८ पटक पढिएको
संसद्मा अनेकौं काण्ड भइसकेका थिए तर संसदीय प्रणाली धरापमा परिसकेको थिएन। दरबार मन्दिरसरह नै लिइन्थ्यो। राजा विष्णुका अवतार नै मानिन्थे। यस्तै सामाजिक-राजनीतिक अवस्थितिमा भएको थियो त्यो रहस्यमयी घटना। अर्थात्, १९ जेठ २०५८- दरबार हत्याकाण्ड।
बोल्दाबोल्दै एकोहोरो शोक धुन बजाउन थालेको रेडियो नेपाल। कपाल मुडेका मानिसहरू। र, केही दिनपछि टेलिभिजनमा देखिएका शवयात्राका दृश्यहरू। १९ जेठ २०५८ रातको ८:४५ मा नारायणहिटी दरबारमा चलेको गोलीले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराजधिराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीसहित वंश विनाश भएको थियो। यो घटनाको पछाडि कसको हात थियो ? के यो योजनाबद्ध थियो वा विवादका बीच भएको संयोगवश दुर्घटना ? के यो वीरेन्द्रसँग लिइएको बदला थियो ?
दरबार हत्याकाण्डको केही दिनमै तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा ‘छानविन समिति’ गठन गरिएको थियो। रानाभाटको समितिले हत्याकाण्डको जिम्मेवार तत्कालीन युवराज दीपेन्द्रलाई लगाएको थियो। देवयानी राणासँग बिहे गर्ने उनको प्रस्तावलाई रानी ऐश्वर्याले अस्वीकार गरेकाले आक्रोशित भई गाँजा र ‘नाम नखुलेको कालो पदार्थ’को नसामा गोली चलाएको रानाभाट आयोगको निष्कर्षलाई नेपालीले पत्याएनन्। बरु आशंकाको सुई त्यसपछि गद्दीनसिन राजा ज्ञानेन्द्रतिर सोझ्याए। त्यसको मूर्त रूप थियो, साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक- इतिहासमा कालो पोतिएको अनुहार। आरोपित युवराज दीपेन्द्र सपनामा आई आफूलाई प्रश्न गरेको कल्पना गरेर संग्रौलाले उक्त पुस्तकमा यस्ता थुप्रै प्रश्न उठाएका थिए जसको जवाफ रानाभाट आयोगको प्रतिवेदनमा थिएन।
यसर्थ १९ जेठ नसुल्झिएको रहस्य बनिबसेको छ। यद्यपि नेपाली राजनीतिक इतिहासमा यो यस्तो पानीढलो बन्नपुग्यो, जसले वर्तमान नेपाली राज्यको स्वरूप बनायो। यसका मूलत: तीनवटा परिणाम भए:
१. राजा र राजसंस्थाप्रति नेपाली जनताको आस्था भंग भयो। राजालाई विष्णुको अवतार मान्ने नेपाली जनता उनकै हत्या भएपछि त्यो आस्थामा अडिग भइरहन सकेनन्। जसले राजाविहिन राज्य प्रणालीप्रति नेपाली समाजलाई डोर्यायो।
२. दाजुको हत्यापछि राजा बनेका ज्ञानेन्द्र जनप्रिय हुन सकेनन्। बरु घटनाक्रमले उनलाई माघ १९ को स्वेच्छाचारितातर्फ पुर्यायो। परिणाम, माओवादी र संसदीय दल नजिकिए। प्रतिगमनविरोधी आन्दोलनले संविधान सभा र गणतन्त्रको मुद्दा अंगीकार गर्यो।
३. दरबार हत्याकाण्डलाई सशस्त्र संघर्षरत तत्कालीन नेकपा (माओवादी)ले आफ्नो राजनीतिक पूँजी निर्माणको अवसरको रूपमा लियो। २४ जेठ २०५८ मा माओवादीका नेता बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा ‘नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन’ शीर्षकमा लेख प्रकाशित गर्दै दरबार हत्याकाण्डलाई ‘कोतपर्व’ करार गरे। कोतपर्वको उत्पादन जंगबहादुर राणा भएजस्तै दरबार हत्याकाण्डको उत्पादन ज्ञानेन्द्र शाह भएको उनको परोक्ष संकेत थियो। जनतालाई नयाँ राणा शासन स्थापना भएको सन्देश दिने उनको प्रयत्न पछाडि माओवादीलाई राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने उद्धेश्य पनि निहित थियो।
त्यसो त दरबार हत्याकाण्डपछि काठमाडौंमा सिर्जित अस्थिरताको उपयोग गर्दै माओवादीले ‘शहरी विद्रोह’को असफल प्रयत्न नगरेको पनि होइन। तत्कालीन समयमा असफल भए पनि अन्तत: माओवादी राजनीतिक शक्तिको रूपमा स्थापित भयो।
यसरी एउटा नसुल्झिएको घटना नेपाली राजनीतिक इतिहासमा पानीढलो बन्नपुग्यो। तर, आजको वर्तमान र त्यो विगतबीचमा यस्ता अरूकेही रहस्यमय प्रश्नहरू जीवित छन् जसको जवाफ अनुमान लगाउन सकिन्छ प्रमाणसहित भन्न सकिँदैन।
१९ जेठ २०५८ को दरबार काण्ड नसुल्झिएको रहस्य हो। तर यसका परिणतिहरू भने स्पष्ट छन्। वर्तमान राज्य संरचनाको जग त्यही घटनाको पानीढलोमा सिर्जित हो।