- Loading...
जान्ने वुझ्ने नै पालना गर्दैनन् स्वास्थ्य मापदण्ड, लकडाउन ७ दिन थप
- पुनहिल डट कम
- ३ साल अघि
- १०८ पटक पढिएको
जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले समुदायमा संक्रमण फैलनुमा अगुवा र जान्ने वुझ्mनेहरु जिम्मेवार रहेको निक्र्यौल सहित थप ७ दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ ।
म्याग्दीमा बैशाख २२ गतेदेखी लकडाउन निरन्तर छ । जिल्ला कोरोना संकट ब्यवस्थापन समितिको आईतवार सम्पन्न भर्चुअल बैठकमा जारी लकडाउनको समिक्षा गर्दै सहर, बजारमा भन्दा ग्रामिण भेगमा लकडाउन पालना नभएको ठहर गरेको छ ।
‘लकडाउनले संक्रमणको संख्या बढेपनि अनुपात घट्दै गएकोले चेनव्रेक भएको ठानेका छौं । लकडाउन पालना भएको बेनी समेत बजार क्षेत्रमा संक्रमण ह्वात्तै घटेको छ तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुने वस्तीमा संक्रमण नरोकिएकोले लकडाउन थप्नु परेको हो’ डिसिएमसीको संयोजक रहेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘सँधै लकडाउन विकल्प होईन तर संक्रमणको चेनव्रेक गर्ने पर्ने भएकोले थप एक साता कडाई पूर्वक कार्यान्वयन गर्नु पर्ने भएको हो ।’
जिल्ला कोरोना संकट ब्यवस्थापन समिति बैठकमा रघुगंगा गाउँपालिका, ४ दग्नाम वस्ती अनुगमन गर्न गएको गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक र प्रहरी सम्मिलित टोलीमाथी मदिरा सेवन गरेका स्थानीय युवाहरुको जमातले उल्टो आक्रमण प्रयास गरेको रिपोटिङ भएको थियो । ५० जनाबढी संक्रमित रहेको दग्नामका ९० प्रतिशतबढी युवा रहेका छन ।
वैठकले समाजको अगुवा शिक्षक, युवा क्लवका अगुवा र पढेलेखेका र पहुँचवाला ब्यक्तिले नै कोरोना असावधानी गरिरहेकोले कोरोना संक्रमण रोकथाम प्रभावकारी बनाउन अझै एक हप्ता घर–घर र वस्ती–वस्ती पूर्ण विच्छेद गर्नु पर्ने निर्णय भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणको अनुपात घट्दै गएको छ । सुरुमा संकलित नमुनाको पिसिआर रिपोर्ट ७६ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा हाल यो घटेर ५० प्रतिशतमा झरेको छ । जिल्लाको रघुगंगा र मालिका गाउँपालिकामा बाहेक अन्यत्र सक्रिय संक्रमितको अनुपात घटेको छ ।
‘लकडाउनले संक्रमणको फैलावटको तिब्रतामा ब्रेक गरेको छ । संख्या बढेपनि वैशाख दोस्रो, तेस्रो सातामा जस्तो अत्यासलाग्दो संक्रमण छैन’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘सदरमुकाम समेत बजार क्षेत्रमा लकडाउनको प्रभाव राम्रो देखिएपनि ग्रामिण भेगमा पालना भएको छैन । विभिन्न वस्तीको अनुगमन गर्दा जुन सुमदायमा स्वास्थ्य मापदण्ड पालनामा वेवास्ता भएको छ, त्यहीं बढी संक्रमण फैलिएको भेटियो ।’