FLASH NEWS
  • Loading...

चीनद्वारा सर्वदलीय अन्तर्क्रिया

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १११ पटक पढिएको
चीनद्वारा सर्वदलीय अन्तर्क्रिया

करिब दुई तिहाइ बहुमतसहित सत्तासीन नेकपा फुटेपछि उत्तरी छिमेक चीनले नेपालका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्न खोजेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले २०७५ सालदेखि नेकपासँग मात्र सहकार्यमा जोड दिँदै आएकामा नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि पहिलोपटक यहाँका लगभग सबै मुख्य राजनीतिक दलसँग एकसाथ छलफल गरेको छ ।

सीपीसीको अन्तर्राष्ट्रिय विभागले बुधबार गरेको दुई मुलुकबीचको भर्चुअल कार्यक्रममा नेकपा एकतापूर्वको अवस्थामा पुगेर ब्युँतिएका एमाले र माओवादी केन्द्रका साथै कांग्रेस, जसपा, नेमकिपा, राप्रपालगायत दल समेटिएका थिए । कोरोना भाइरसविरुद्ध दुई मुलुकका राजनीतिक दलहरू एकजुट भएर लाग्ने विषयमा भएको भर्चुअल कार्यक्रमको संयोजन सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले गरेका थिए । नेपालका तर्फबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता नारायण खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायत नेता सहभागी थिए । एक पार्टीबाट एकभन्दा बढी नेता पनि सहभागी थिए ।

भूराजनीतिविज्ञ श्रीधर खत्रीले नेपालको राजनीतिक अवस्थामा परिवर्तन आएपछि सबै पक्षसँग सहकार्य गरेर जानुपर्छ भन्ने निष्कर्षमा पुगेको यो छलफलबाट अनुमान गर्न सकिने बताए । उनका अनुसार पञ्चायतका बेला राजासँग सहकार्य गरेको चीनले २०४६ सालमा प्रजातन्त्र आएपछि पनि संवैधानिक राजतन्त्रलाई नै आफ्नो नजिकको मित्र मानेको थियो । ‘राजतन्त्र गएपछि पहिलो पटक नेपालमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा बनेपछि चीनले उसैसँग सहकार्य गरेको थियो । विवादले नेकपा नै एक नरहेपछि नेपालका सबै स्टेकहोल्डरसँग सहकार्य गर्न खोजेको देखिन्छ,’ खत्रीले थपे ।

पछिल्ला दुई वर्षमा चीनको कम्युनिस्ट पार्टीले आफ्नो अन्तर्राष्ट्रिय विभागमार्फत तत्कालीन नेकपासँग मात्रै पटक–पटक कार्यक्रम गरेको थियो । २०७६ असोज ६ र ७ गते काठमाडौंमा सी चिनफिङ विचारधारामाथि सीपीसी र नेकपाबीच छलफल भएको थियो, जसमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओलगायत सहभागी थिए ।

सोही कार्यक्रममा तत्कालीन नेकपाका विदेश विभाग प्रमुख नेपाल र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङले दुई पार्टीबीच भ्रातृ सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । यस्तै, २०७७ असारमा सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको संयुक्त आयोजनामा पार्टी र देश सञ्चालनका विषयमा अनुभव आदानप्रदान गर्न उच्च पदाधिकारीबीच भर्चुअल गोष्ठी भएको थियो । त्यसमा तत्कालीन नेकपाका अध्यक्षका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए । ekantipur.com