- Loading...
एतिहाँसिक ‘मौरिस हर्जोग’ मार्गले स्थानीय सरकारको आसा जगाउँदै
- पुनहिल डट कम
- १ साल अघि
- ३२७ पटक पढिएको
अन्नपूर्ण प्रथम हिमाल (८०९१ मी.) हिमालको सवै भन्दा जनिकको वस्ती हो, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ ।
नारच्याङ गाउँको सिरानमा रहेका अन्नपूर्ण, वराहशिखर, तिलिचो पीक र निलगिरी साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौं पुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनीसम्म गोठ पुर्याए/फर्के । उनीहरुले कहिल्यै भेडा धपाउँदै उभौली–उँधौली गरेको गोठालो मार्गको एतिहाँसिक महत्व वारे ज्ञान नै पाएनन ।
मिती समय बताउने एक माध्यम हो । मितीको पौराणीक कालदेखी प्रयोग हुँदै आएको छ । र नारच्याङवासीकालागी सन् २००५ (०६१ फागुन/चैत) भविश्य बताउने मिती बनेर आयो । र एउटा विश्वास, आसा र भरोसाको सपना वोकेर आएका थिए, मौरिस हर्जोग । हर्जोगको नेतृत्वमा सन १९५० जुन ३ तारेखका दिन अर्का पर्वतारोही लुईस लचेनलसमेत दुई जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।
संसारमा ८ हजार मिटर अग्लो अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गरेका फान्सेली किर्तिमानी पर्वतारोही मौरिस हर्जोग मृत्यु अघि अन्तिम पटक सन २००५ अप्रिल/मे)मा हेलिकोप्टरबाट अन्नपूर्ण हिमाल पुगे । ५५ बर्ष अघि आफुले हिंडेको बाटोलाई हेलिकोप्टरबाटै पछ्याउँदै त्यही हिमालको सवै भन्दा नजिकको वस्ती खोज्दै नारच्याङमा ओर्ले ।
हर्जोगले नारच्याङ ओर्लेपछि स्थानीयलाई भेला गरे । ५५ बर्ष अघि दुई सयबढी भरिया र सहयोगी सहित नारच्याङको माथिल्लो बुक्यानको बाटो हुँदै अन्नपूर्ण हिमाल चढ्न गएको कथा सुनाए । र पर्वतारोहणको एतिहाँसिक पदमार्गको विकासमा नेपाल सरकारले चासो नराखेको दुखेसो पोखे । आफुले अन्नपूर्ण हिमाल ८०९१ मि.) आरोहण गर्दै र त्यस यता को अन्नपूर्ण आरोहणमा प्रयोग हुँदै आएको उत्तरी मोहडाको वेस क्याम्प पुग्ने पदमार्गको संभावना र भविश्य देखाएर फर्केका थिए ।
‘न्नपूर्ण नारच्याङ गाउँमै पर्ने भएपनि हिमाल चढ्न जानेहरु मुस्ताङ गएर अप्ठेरो बाटो भएर नारच्याङको भुस्केटमेला भन्ने भेडाखर्कमा निक्लन्थे । परम्परादेखी नारच्याङ र वरपरका वस्तीबाट भेडागोठ मिस्त्रीखोलाको वारपारहुँदै माथी भुस्केटमेलाभन्दा पनि माथीसम्म गोठ लैजान्थे तर बाहृय मान्छेलाई गोठालो बाटो बारे जानकारी थिएन ।
हर्जोगले गाउँलेलाई भनेका थिए रे, ‘नेपालका हिमाल आरोहणमा अन्नपूर्ण हिमाल जेठो भएपनि नेपाल सरकारले यस क्षेत्रको पर्यटन विकासमा योगदान दिएको भेटिन । सवैभन्दा नजिकका तपाईहरुको सहयोग माग्न आएको हुँ । अन्नपूर्ण पुग्ने तपाईहरुको गोठालो बाटो प्रचलनमा रहेछ । यसैलाई ब्यवस्थित बनाउनुस, अन्नपूर्णले खुशी भविश्य दिनेछ’ तत्कालिन प्रभा माध्यामिक विद्यालयका प्रअ रहेका स्थानीय पर्यटन ब्यवसायी तेजबहादुर गुरुङले भने, ‘हर्जोगले उक्साएपछि गाउँका पुराना र अनुभवी भेडा गोठाला लिएर १२ जना पदमार्गको संभावना खोज्दै बेसक्याम्प पुग्यौं । ५ दिनको पैदल यात्रमा वेस क्याम्प पुग्न सकिने र पदमार्ग बनाउन सकिने संभावना देखेपछि फर्केर अभियान हौं ।’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ । उनै पर्वतारोही मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ, तिलिचो पीक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन ।
‘अन्नपूर्ण गाउँपालिकाकै अगुवाई र खर्चमा मौरिस हर्जोग पदमार्ग नक्साङक गरी प्रकाशन एवं प्रर्वद्धन र मर्मत सुधारका काम भएका हुन । पालिकाले तत्कालिन साँसद भुपेन्द्र थापा मार्फत पर्यटन मन्त्रालयसम्म फाईल पुर्याएर बजेर परेको हो, जुन बजेटले पदमार्ग धेरै सुधार र सजिलो भएको छ’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘यो वर्ष अन्नपूर्ण पदमार्गबाट रोयल्टी चार लाख आएको छ, हामी अन्न्पूर्ण आरोहणको पनि रोयल्टी ल्याउन लविङ गरेका छौं । यो पदमार्ग स्थानीयलाई रोजीरोटी र ब्यवसायीक संभावना मात्र होईन स्थानीय सरकारको दीगो आम्दानीको श्रोत हुनु कुरामा विश्वास राखेका छौं ।’
अन्नपूर्ण प्रथम हिमालको उत्तरी वेस क्याम्प पुग्ने परम्परागत कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त ६ दिनको पदयात्रा अहिले मोटरबाटोले अझ छोटिएर दुई दिनमा छोटिएको छ । वलियो र समय तालिका अनुसार हिंड्न सक्ने ब्याकप्याक ट्रेक गर्नेले बेनी–जोमसोम सडकको तातोपानीबाट एक दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न सक्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथ, तिलिजो पीक र नाम नखुलेको अर्को हिमालको समेत संयुक्त वेस क्याम्प हो ।
‘हर्जोगले मिस्त्रीखोला पछ्याउँदै चल्तिमा रहेको स्थानीय भेडागोठ मार्गलाई सुधारगरी पर्यटन पदमार्ग बनाउन सुझाएपछि हामीले सन २००९ मा एक्यापसँग स्थानीयको अग्रसरतामा पदमार्ग पहिचान गर्ने प्रस्ताव गर्यौ र सहयोगमा लेकगाउँहुँदै कालोखोला–छोटेपा–हुमखोला–साँधीखर्क–भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण नर्थको क्याम्प पुग्ने पदमार्ग पहिचान गरेका थियौं’ स्थानीय पर्यटन अभियन्ता रहेका अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले भने, ‘अहिले हाईड्रो प्रोजेक्टले गर्दा पदमार्गको दिन छोटिएसँगै सवैकालागी सहज भएको छ । नेपाली युवाहरु धेरै आउन थालेपछि गाउँलेहरु अव पर्यटनबाट केही हुन्छ भन्ने आसावादी भएका छन । पर्यटनमा भरोसा पलाएको छ ।’
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ माथी नारच्याङ वेंशी (१३३० मी) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मी) सम्म दुई घन्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधिन निलगिरी पहिलो र दोस्रो जलविधुत आयोजनाले कच्ची ट्रयाक खोलेका हुन । हाईडोले पदमार्गमा ट्रयाक खोलेको कारण नारच्याङ–हुमखोला २२ किमीमा पदमार्ग नासिएको छ । तातोपानी वा नारच्याङमा वास बसेर विहान गाडीमा जाँदा छोटेपा भन्ने स्थानमा सानो टि हाउस छ । यहीं खाना खाई गाडीमा १५ मिनेट माथी हुमखोलासम्म पुग्न सकिन्छ ।
हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घन्टा हिंडेपछि भुस्केटमेला (३६५९मी) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले विच–विचमा बनेका आश्रय घरमा पनि वास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुङ्गे जीर्ण छन, बाढीले पदमार्ग विगारेको छ । हरेक एक घन्टाको विचमा आश्रय घर थप्नु पर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घन्टामा वेस क्याम्प सजिलै पुग्न सकिन्छ ।
‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण भैरहेको छ । पदमार्गका वस्ती नभएका र वास वस्नु पर्ने स्थानमा कसरी टि हाउस, डायनिङ हाउस समेत पर्यटक आश्रय घर बनाउन बजेट विनियोजन गर्दैछौं’ मौरिस हर्जोग पदमार्ग प्रर्वद्धनमा जुटेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । हिमाली क्षेत्रको पदमार्गमा पर्यटन ब्यवसाय प्रर्वद्धन, संरक्षण र प्रोत्साहन गर्न नियमाली, निर्देशिका समेतका कानुनी, आर्थिक प्याकेज र ब्यवसायीक शिप विकासका कार्यक्रम राखेका छौ ।’