धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरू बरामद गरेको हो। महिलाले कालो रङको झोला बोकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो।
महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए। उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए। महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ। *थाहाखवरमा समाचार छ ।