- Loading...
महावीर पुनसँग सरकारले गर्यो वार्ता, समझदारी सकारात्मक : पुन
- पुनहिल डट कम
- १ साल अघि
- १५१ पटक पढिएको
उपप्रधानमन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आइतबार पुनसँग वार्ता गरेको हो। वार्ता सकारात्मक भएको पुनले जानकारी दिएका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो ।
पहिलो चरणमा छलफल भएको र थप वार्ताका लागि टोली गठन गर्ने सहमति बनेको उनले बताए। “आजै वार्ता टोली गठन गरेर हाम्रा मागबारे सरकारसँग विस्तृत रुपमा वार्ता गर्छौं,” पुनले भने।
आजै साँझ ५ बजेसम्म पुनले आफ्नो तर्फबाट सरकारसँग वार्ता गर्न टोली गठन गर्ने भएका छन्। त्यसपछि विस्तृत रुपमा वार्ता हुने उनले बताए।
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी वैशाख १५ देखि पुनले माइतीघर मण्डलमा धर्ना शुरू गरेका हुन्। उनी राति पनि धर्नामै बसिरहेका छन्।
उनले अनुसन्धान, नवप्रर्वतन र आविष्कारमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने र त्यो रकम ‘अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोष’ मा जम्मा गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, कोषको रकम सहज तरीकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन’ बनाउन पनि सरकारसँग माग गरेका छन्।
अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीतिनियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीतिनियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने उनको माग छ।
निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालय अन्तर्गत व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने पुनले माग गरेका छन्।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग बुझाएका थिए। तत्काल माग सम्बोधन गर्नका लागि दबाब दिन धर्ना शुरू गरेका हुन्।