- Loading...
कोरोनाको दुष्प्रभाव नपरेका नौ क्षेत्र
- पुनहिल डट कम
- ४ साल अघि
- ९५ पटक पढिएको
|कोभिड–१९ को महामारीले नौ वटा क्षेत्रमा दुस्प्रभाव नपरेको
कोभिड–१९ को विश्वव्यापी महामारीले अर्थतन्त्रका सबै क्षेत्र चौपट भएको भन्दै चिन्ता व्यक्त भइरहेको बेला नौ वटा क्षेत्रमा भने यसको दुस्प्रभाव नपरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
बैंक तथा वित्तीय क्षेत्रको लागि राहत प्याकेज बनाउन र नेपालको अर्थतन्त्रमा कोरोना संक्रमणले पारेको प्रभावको यकिन विवरण तयार गर्नको लागि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले केही क्षेत्रहरू कोरोनाको दुस्प्रभावबाट जोगिएको देखाएको हो।
सोही अध्ययनका लागि प्राप्त सूचना विश्लेषण गरेर राष्ट्र बैंकले १६ वैशाखमा बैंक वित्तीय संस्थाको लागि राहतको कार्यक्रम सार्वजनिक गरेको छ।
केन्द्रिय बैंकले २०७६ चैत मसान्तमा हिसाब गरेको ब्याजदरमा आगामी असार मसान्तमा दुई प्रतिशत घटाएर ब्याज हिसाव गर्न निर्देशन दिएको छ। यो अनुसार त्यस्ता ऋणीले वैशाख, जेठ र असार महीनाको ब्याजमा छुट पाउने छन्। तर, कोरोना दुस्प्रभावमा नपरेका क्षेत्रका ऋणीले भने त्यस्तो सुविधा पाउँदैनन्।
कतिपय अत्यावश्यक सेवाअन्तर्गतका क्षेत्रमा कोरानाको प्रभाव खासै नदेखिएको राष्ट्र बैंकको विश्लेषण छ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भन्छन्, “राष्ट्र बैंकले निरन्तर अध्ययन गरिरहेको छ। अहिले प्राप्त सूचनाको आधारमा केही क्षेत्रमा खासै असर नपरेको देखिएकाले ऋणको ब्याज छुटको सुविधा नदिइएको हो।”
खाद्यान्न प्रशोधन तथा विक्री वितरण सम्बन्धी व्यवसायलाई राष्ट्र बैंकले प्रभाव नपरेको क्षेत्रको सूचीमा राखेको छ। सरकारले पनि खाद्यान्न उद्योगदेखि बिक्री वितरणमा सहभागी थोक तथा खुद्रा व्यापारलाई लकडाउनको अवधिमा पनि खुल्ला गरेको छ।
खाद्यान्न ढुवानीको लागि छुट्टै पासको व्यवस्था नै गरेर खाद्यान्नको विक्री यथावत राखिएको छ।
त्यसैगरी, ग्यास उत्पादन तथा विक्री वितरणसम्बन्धी व्यवसायमा पनि कोरोना दुस्प्रभाव नदेखिएको राष्ट बैंकले जनाएको छ। लकडाउनकै अवधिमा पनि ग्यासका डिपोहरू खुल्ला रहेका थिए भने उपभोक्ताले ग्यासका सिलिण्डर खरिद गरेका थिए।
कोरोना संक्रमण हुन थालेयता विश्वभर नै सबैभन्दा बढी चम्किएको उद्योग हो– सोप एण्ड केमिकल्स् उद्योग। कोरोना संक्रमणबाट जोगिनका लागि सफा रहनुपर्ने र त्यसका लागि निरन्तर हात धुनुपर्ने विधिका कारण सोप एण्ड केमिकल्स् उद्योगको उत्पादन र बिक्री दुनियाँभर कहीँ पनि रोकिएको छैन।
राष्ट्र बैंकले औषधी विक्री वितरण व्यवसाय गरिरहेका व्यवसायीले लिएको ऋणमा पनि ब्याज छुट दिनु नपर्ने भनेको छ। औषधी विक्री वितरण अत्यावश्यक सेवाअन्तर्गत पर्छ।
इन्टरनेट सेवाप्रदायक कम्पनी पनि कोरोना दुस्प्रभावमा नपरेको क्षेत्र हो। अहिले लकडाउनका कारण सबैजसो मानिसहरू घरमै रहे पनि उनीहरूको समय विताउने सबैभन्दा सहयोगी माध्यम नै इन्टरनेट बनेको छ। नेपालमा इन्टरनेट सेवा दिने कम्पनीहरूको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष भोजराज भट्टले इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डवीथमा एक सय गिगाबाइट बढेको बताए।
नेपालमा साामान्य अवस्थामा अन्तर्राष्ट्रिय व्याण्डवीथ ४ सय गिगाबाइट प्रयोग हुने गरेको र लकडाउन शुरू भएयता ब्याण्डवीथ बढेर ५ सय गिगाबाइट पुगेको उनले बताए। त्यसैगरी, इन्टरनेटमा लोकल कन्टेन्टको प्रयोग पनि शतप्रतिशत बढेको उनले बताए।
त्यसैगरी, दूरसञ्चार सेवाप्रदायक कम्पनीको डेटा नेटवर्कको प्रयोग करीब ४० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले दूरसञ्चार सेवाप्रदायक र टेलिभिजन सेवालाई पनि कोरोना दूस्प्रभाव नपरेको क्षेत्रको रूपमा ब्याख्या गरेको छ।
सञ्चालनमा रहेका जलविद्युत आायोजनाको आम्दानीमा पनि कोरोनाको कारण कुनै प्रभाव परेको छैन। निजी क्षेत्रको जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्छ। अहिले औद्योगिक कलकारखाना नचल्दा विद्युतको माग कम भए पनि त्यसको असर निजी क्षेत्रका जलविद्युत उत्पादक कम्पनीहरूलाई पर्दैन।
तर, निर्माणाधीन जलविद्युत आयोजना भने कोरोनाको चपेटामा लपेटिएका छन्। कामदार र निर्माण सामग्री जुटाउन नसक्दा आयोजनाको अवधि लम्बिनुका साथै लागत पनि बढ्ने भएको छ।
त्यसैगरी, राष्ट्र बैंकले सूर्ती तथा मदिराजन्य उद्योगलाई पनि कोरोनाको दुस्प्रभाव नपरेको क्षेत्रको रूपमा व्याख्या गरेको छ।
देखापढीबाट