- Loading...
नेपाल सिधै विश्वकप छनोटमा
- पुनहिल डट कम
- १ साल अघि
- १२८ पटक पढिएको
नेपाल सिधै विश्वकप छनोटमा पुगेको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।
जितसँगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा घोषणा गरिएको थियो।
खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो। नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे।
दीपेन्द्र १० रनमा अविजित रहे। भीम सार्की ६७ रनमा आउट भए। कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए। आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले।
विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए।
यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले। नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १\१ लिए।