- Loading...
धमिलियाे कालीगण्डकी, घर फर्के मुस्ताङ्गी
- पुनहिल डट कम
- २ साल अघि
- ४८९ पटक पढिएको
गर्मी ह्वात्तै बढेपछि दामोदरकुण्डहुँदै झर्ने कालीगण्डकी नदी धमिलिएसँगै जाडो छल्न वेंशी झरेका मुस्ताङी घर फर्कन थालेका छन ।
मुस्ताङको एक्लो जलाधार कालीगण्डकी नदी सङ्लो बग्न थालेपछि मुस्ताङ्गी वेंशी झर्ने र धमिलो बग्न थालेपछि घर फर्कन थाल्छन । कालीगण्डकी नदी सङ्लो हुने र धमिलो हुने प्रकृयासँग मुस्ताङ्गीको जीवन शैली जोडिएको छ ।
कात्तिक लागेसँगै जोडो छल्न बेंशी झरेका मुस्ताङ्गी र सरकारी कार्यालयहरु गर्मीबढेपछि फागुनको दोस्रो सातादेखी घर फर्कन्छन । मुकुट र दामोदर हिमाली खोलाहरु अधिक चिसोले जम्ने भएकोले कालीगण्डकी नदी मध्य कात्तिकदेखी सङ्लो भै बग्न थाल्छ । लाग्दो फागुनबाट गर्मी बढ्ने भएकोले हिमाली खोला समेत हिउँदमा मुस्ताङका डाँडापाखामा परेको हिउँ पग्लेर माटो बगाउँदै ल्याउने भएकोले कालीगण्डकी धमिलो बन्छ ।
‘कालीगण्डकी नदी धार्मिक सभ्यता मात्र होईन, मुस्ताङ्गीहरुको जीवन शैली पनि हो’ लो–घेकर दामोदरकुण्ड गाउँपालिका, १ चराङका साम्बे गुरुङले भने, ‘दामोदर कुण्ड हिमालबाट झर्ने एउटा खोलाले निरन्तर कालोमाटो बगाउने भएकोले कालीगण्डकी हिउँदका ३–४ महिनाबाहेक धमिलो/कालो बग्छ ।’
असोज अन्तिम साता पोखरा झरेका उपल्लो मुस्ताङका घुम्ती विद्यालयहरु पनि गर्मी बढेसँगै वस्ती फर्कन थालेका छन । घुम्ती ब्यापारमा गएकाहरु टाढा पुगेकाबाहेक सवै घर फर्केका छन । मुस्ताङ्गीहरुका हरेक वर्षका हिंउंद यसरी नै वित्ने गरेको छ । हिउँदमा सदरमुकाम जोमसोम झरेको लोमन्थाङ गाउँपालिका कार्यालय, एक्याप, प्रहरी समेत सरकारी कार्यालयहरु पनि जाडो अलि कम भएसँगै यथास्थानमा फर्केका छन ।
हिउंदा चार महिना मुस्ताङ्गीको जाडो छल्ने समय मात्र होईन, हिमाली जडिबुटीलाई बेचेर फर्कदा खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि हो । जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती नहुने र चौरी र भेडाच्याग्रा पाली जिावकोपार्जन गर्दै आएका उपल्लो भेगका मुस्ताङ्गीको जिवन हिउंदमा थप कष्टप्रद हुन्छ ।
‘फागुन पहिलो सातादेखी नै उपल्लो भेगका मुस्ताङवासी घर फर्कन थालेका छन । पोखरा झरेका घुम्ती विद्यालयहरुमध्य केही फर्के, केहीले यही हप्ता फर्कने तर्खरमा छन’ लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शोभा पुनले भनिन्, ‘सवै जाडो छल्न वेंशी झरेपनि हाम्रो पालिका यस पटक हिउँदमा पनि गाउँबाट सेवा प्रदान गरेको थियो ।’