- Loading...
माथी सेताम्मे हिउँ, तल पर्यो तातोपानी
- पुनहिल डट कम
- ४ साल अघि
- १४३ पटक पढिएको
डाँडाकाँडा सेताम्मे हिउँले ढाकिएको छ । माथी गाउँमा हिउँको चिसो स्याँठ छ । तल म्याग्दी र कालीगडकी नदी किनारामा भत्भती पोल्ने तातोपानीका मुहान छन ।
पुसको कठ्याङग्री चिसोबाट बच्न खोलाका माछा पनि दुलो पस्ने वेलामा माथी हिउँको सिरेटोमा नुहाउनै मुस्किल भएपछि गाउँलेहरु नुहाउन तल तातोपानीका मुलहरुमा धुईरिएका छन । चिसो सिरेटोमा उभिएर शरिरका न्यानो कपडा फुकाल्दा, फुत्त आवाज निक्लन्छ, आच्छ्यु, जाडो ।
‘घर छेउमा तातोपानी भएकोले विहान सवैरै उठ्यो, तातोपानी गयो, आधा–एक घन्टा तातोपानीमा चोपलियो, खललल पसियो बगायो, बडो आनन्द हुन्छ । दिनभरी ज्यान हलुङ्गो बन्छ’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरेका खड्ग गिरीले भने, ‘जोडो सिजनमा प्राकृतिक उपचारकालागी पोखरीमा डुब्न मात्र होईन, चिसो पानीले नुहाउन नसक्ने सवै तातोपानीमा आईरिन्छन । उपचारपनि हुने, तातोपानीले नुहाउन पनि पाईने ।’
चिसो मौषममा तातोपानीको पोखरीमा डुबेर बस्दा छुट्टै आनन्द । तातोपानीमा डुब्दा हाडजोर्नीको प्राकृतिक उपचार सित्तैमा हुन्छ । शरिरलाई आराम पनि हुन्छ । परम्परादेखी नै स्थानीयले जाडोमा नुहाउँदै आजको ब्यवसायीक प्राकृतिक श्वास्थ्य लाभ लिने अस्पताल र आर्थिक उपार्जनको थलो बनेको हो ।
म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यी मुलहरुमा परम्परादेखी स्थानीयले जाडो भगाउन तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक नुहाउँदै आएका छन । घर छेउको धाराको चिसो पानीमा शरिर पखाल्न आँट नहुनेहरु टाढाटाढाबाट पनि गम्छा, सावुन, सेम्फो र फेर्ने कपडा झोलामा बोकेर दिनभरको निमेक खेर फालेरै तातोपानी नुहाउन आउने धेरै हुन्छन । तातोपानी डब्दै जाँदा स्थानीयको अनुभवले अहिले यहाँका तातोपानीका पोखरीहरु प्राकृतिक अस्पताल कहलिएका छन ।
केही तातोपानीका मुलहरुको ब्यवसायीकरण गरिएपनि कालीगण्डकी नदी किनाराको रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदी समेतका तातोपानीका मुलमा अझै परम्परागत शैली अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्किी मार्ने प्रचलन जीवित छ ।
संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित तातोपानी प्राचिन काल भारत–भोट (तिब्बत) नुन ब्यापार गर्ने थलो थियो । भोटको नुन लिएर बेच्न झरेका थकाली र नुन किन्न आएका ढाँक्रेहरुले कालीगण्डकी नदी किनारामा तातोपानी देखेपछि अस्थाई पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन थलेका हुन ।
७० बर्ष अघिसम्म सिङ्गाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मुल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरु खोला किनाराको तातोपानीमा अस्थाई पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका विरामीलाई फाईदा भएपछि वरपरका वस्तीबाट मान्छेहरु डुब्न आउन थालेका हुन । विस्तारै वचन विज्ञापनले मान्छेहरु तातोपानी डुब्न आउने क्रम बढेको हो ।
बेनी नगरपालिका, ४ स्थित म्याग्दी खोला किनाराको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका, २ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा विरेनुन र भुरुङ्ग र नारच्याङ्ग तातोपनीमा नुनको गन्ध र स्वाद पाईन्छ । अन्य स्थानका तातोपानी भने गन्ध रहित छन ।
अन्नपूर्ण गाउँपालिका अर्न्तगत कालीगण्डकी नदी किनारामा पर्ने महभीर, रातोपानी र नारच्याङ वेंशीमा पनि तातोपानीका मुलहरु छन । यहाँका तातोपानीमा वरपरका बस्ती र पोखरा, काठमाण्डौ, वुटवल समेतका सहरमा बसाई सरेकाहरु स्थानीयहरु यहाँका तातोपानीमा डुब्न आउने गरेका छन ।
पश्चिम धौलागिरी फेदीको गुर्जा र मुदी बगरामा पनि तातोपानीको मुहान छन । बस्तीबाट धेरै टाढा भएकोले यहाँ गुर्जा र मुदीको बगराका मान्छे डब्छन । रघुगंगा गाउँपालिकाको पिप्ले, दग्नाम, दर्मिजा, चिमखोला, कोटगाउँ, पाखापानी र झिं वस्तीको पुछारमा रहेको यो तातोपानीमा स्थानियले डुबेर प्राकृतिक उपचार गर्ने गरेका छन ।
लामो पदयात्राबाट गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी वैकल्पिक उपचार पद्धति हो । पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफाले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ ।
‘म्याग्दीमा तापक्रम मापन गरेका ७ वटा मुहानमध्य रातोपानीमा सवैभन्दा बढी तातो ७३ डिग्री र धौलागिरी फेदीको बगराको तातोपानीमा कम २५ डिग्री सेल्सियस भेटियो’ जाईकाको सहयोगमा तातोपानीको अध्ययन गरिरहेका याम खड्काले भने, ‘तातोपानीमा भएका मिनिरल्स र अन्य विवरण विज्ञ टिमबाट अध्ययन भैरहेको छ ।’