FLASH NEWS
  • Loading...

माथी सेताम्मे हिउँ छ, तल तातोपानीका पोखरीमा नुहाउन पाइदैन

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३५३ पटक पढिएको
माथी सेताम्मे हिउँ छ, तल तातोपानीका पोखरीमा नुहाउन पाइदैन

डाँडाकाँडा सेताम्मे हिउँले ढाकिएको छ । माथी गाउँमा हिउँको चिसो स्याँठ छ । तल म्याग्दी र कालीगडकी नदी किनारामा भत्भती पोल्ने तातोपानीका मुहान छन । तर कोरोनाको जोखिम बढेपछि भीडभाड हुने भन्दै प्रशासनले रोक लगाएपछि तातोपानीका पोखरी खाली छन । चिसो मौषममा पनि तातोपानीमा डुबुल्कि मारेर नुहाउनु छैन ।
कठ्याङग्री चिसोबाट बच्न खोलाका माछा पनि दुलो पस्ने वेलामा माथी हिउँको सिरेटोमा नुहाउनै मुस्किल भएपनि कोरोनाको जोखिमले गाउँलेहरु तल तातोपानीका मुलमा नुहाउन झर्न पाएका छैनन ।
‘चिसो मौषममा तातोपानीको पोखरीमा डुबेर बस्दा छुट्टै आनन्द र हाडजोर्नीको प्राकृतिक उपचार पनि सित्तैमा हुन्थ्यो । शरिरलाई आराम पनि । कोरोनाले सवै ठप्प भो’ बेनी नगरपालिका, ४ सिङ्गातातोपानीका कृष्ण खड्काले भने, ‘परम्परादेखी नै स्थानीयले जाडोमा नुहाउँदै आजको ब्यवसायीक प्राकृतिक श्वास्थ्य लाभ लिने अस्पताल र आर्थिक उपार्जनको थलो रहेको थियो । पछिल्ला तीन वर्षदेखी ठप्प छ ।’
कोरोना कहरले यहाँमा प्राकृतिक अस्पताल कहलिएका तातोपानीका पोखरीमा डुब्न र नुहाउन रोक लागेपछि चिसो र जाडोमा तातोपानीमा नुहाउन नपाएका मात्र होईन, तातोपानीका पोखरीमा आश्रित यहाँका होटल, तरकारी, दुध, माशुजन्य उत्पादन गर्ने कृषी ब्यवसाय पनि प्रभावित भएको छ ।
म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यी मुलहरुमा परम्परादेखी स्थानीयले जाडो भगाउन तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक नुहाउँदै आएका थिए । तातोपानी डब्दै जाँदा स्थानीयको अनुभवले अहिले यहाँका तातोपानीका पोखरीहरु प्राकृतिक अस्पताल कहलिएका छन ।
‘कोरोनाले गर्दा प्राकृतिक तातोपानीमा आधारित आन्तरिक तथा बाह्य पर्यटन ठप्प हुँदा आश्रित ब्यवसाय मात्र होईन स्थानीय तहको आन्तरिक आम्दानीमा पनि प्रभाव परेको छ’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले भने, ‘अघिल्लो बर्ष त ठप्प भयो, यो वर्ष न्यून अङ्कमा भएपनि तातोपानीमा २० लाखमा टेण्डर आह्वान गर्दा पनि ब्यवसायी सम्झौता गर्न आएका छैनन ।’
केही तातोपानीका मुलहरुको ब्यवसायीकरण गरिएपनि कालीगण्डकी नदी किनाराको रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदी समेतका तातोपानीका मुलमा अझै परम्परागत शैली अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्किी मार्ने प्रचलन जीवित छ ।
संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित तातोपानी प्राचिन काल भारत–भोट (तिब्बत) नुन ब्यापार गर्ने थलो थियो । भोटको नुन लिएर बेच्न झरेका थकाली र नुन किन्न आएका ढाँक्रेहरुले कालीगण्डकी नदी किनारामा तातोपानी देखेपछि अस्थाई पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन थलेका हुन ।
‘हजुर आमाले भने अनुसार पुर्खादेखी नै थाकखोलाबाट हिउँदमा जाडो फाल्न तातोपानीमा आउने र ८–१० दिन तातोपानीमा डुबेर फर्कने गर्थे । सिस्नु घारी भएकोले बस्ती थिएन । पछि थकालीहरुले आफ्नो नाममा दर्ता गरेछन’ भुरुङ्गतातोपानीका भुवन गौचनले भने, ‘वरपरका मान्छेहरु डुब्ने र नुहाउने तातोपानी ०३५/०४० तिरबाट पर्यटक बढेपछि स्थानीयले भन्दा पर्यटकले प्राथमिकता पाउन थालेका हुन ।’
७३ बर्ष अघिसम्म सिङ्गाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मुल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरु खोला किनाराको तातोपानीमा अस्थाई पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका विरामीलाई फाईदा भएपछि वरपरका वस्तीबाट मान्छेहरु डुब्न आउन थालेका हुन । विस्तारै वचन विज्ञापनले मान्छेहरु तातोपानी डुब्न आउने क्रम बढेको हो ।
बेनी नगरपालिका, ४ स्थित म्याग्दी खोला किनाराको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका, २ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा विरेनुन र भुरुङ्ग र नारच्याङ्ग तातोपनीमा नुनको गन्ध र स्वाद पाईन्छ । अन्य स्थानका तातोपानी भने गन्ध रहित छन ।
नेपालमा भेटिएका तातोपानीमध्य सवैभन्दा बढी म्याग्दीमा ९ स्थानमा तातोपानीका मुहान छन । म्याग्दीमा पाईएका तातोपानीमध्य सवैभन्दाबढी अन्नपूर्ण गापा,६ रातोपानी स्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग तोापानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।
‘म्याग्दीमा तापक्रम मापन गरेका ७ वटा मुहानमध्य रातोपानीमा सवैभन्दा बढी तातो ७३ डिग्री र धौलागिरी फेदीको बगराको तातोपानीमा कम २५ डिग्री सेल्सियस भेटियो’ जाईकाको सहयोगमा तातोपानीको अध्ययन गरिरहेका याम खड्काले भने, ‘तातोपानीमा भएका मिनिरल्स र अन्य विवरण विज्ञ टिमबाट अध्ययन भैरहेको छ ।’