- Loading...
मगर/पुन र माघी
- पुनहिल डट कम
- १ साल अघि
- १३८ पटक पढिएको
वन तरुलबाट बनाएको प्रसाद ‘निस्रो’ ले कुलदेवता र दिदीबहिनीको पूजा गरी मगर/पुन जाति, समुदायले ख्याली नृत्य गर्दै माघे संक्रान्ति मनाएका छन् । माघे संक्रान्ति सबै जातिले मनाउने भए पनि प्रकृति पूजक मगर/पुन जाति, समुदायले मुख्य चाडका रूपमा मनाउँछन् ।
माघे संक्रान्तिपछि ‘उँभौली’ सुरु भएको छ । म्याग्दीका मगर/पुन समुदाय माथिल्लो क्षेत्रमा गुजुमुज्ज परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला हुन्छन् । पशु चौपायासहित जहाँ जे बाली पाक्छ त्यहीं नै बसोबवास गरी अर्को बाली खान अर्को खर्क (खेतीफाँटमा) बसाइँ, जाडो/गर्मी मौमअनुसार गोठलाई लेक–बेंसी गर्ने परम्परालाई नै ‘उँधौली–उँभौली’ भन्ने गरिन्छ ।
फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेती गरिने फाँटअनुसार बस्ती सार्ने परम्परामा माघदेखि हिउँद सकिएकाले अब विस्तारै बेंसी झरेका गोठहरू माथिल्लो क्षेत्रतर्फ लग्ने प्रचलन छ ।
‘माघे संक्रान्ति परम्परागत मगरहरूको विछोडको अर्थात् बिदाइको पर्व पनि हो । हिउँदमा जाडो छल्न बेंसी झरेका मगरहरू छुट्टिएर आ–आफ्ना खर्कतर्फ गोठ लग्ने हुँदा माघे संक्रान्ति उल्लासपूर्वक मनाउने र पैयुँ फुलेपछि फुर्सदमा माइती भेट्न आएका चेलीबेटीलाई वनको कन्दमूल खुवाई बिदाइ गर्ने पुख्र्याैली चलन हो’ अन्नपूर्ण गाउँपालिका–६ खिबाङका पूर्वशिक्षक पूर्णबहादुर पुनले भने, ‘युग फेरियो । संस्कार र संस्कृति पनि फेरिएको छ । पुर्खाले जे गरे त्यही गर्न सम्भव छैन । यो निरन्तर प्रक्रिया मात्र हो ।’
मगर जातिले वनको कन्दमूल तरुल र सखरखण्डका परिकार बनाई चेलीबेटी पुज्ने र पितृ पूजा गरी मनाउने गर्छन् । पुस मसान्तमा दाजुभाइले ल्याएको वनतरुललाई राति पकाउने चलन छ । माघे संक्रान्तिको बिहान नुहाई पुर्खा (कुलकुलायन) लाई पूजा गरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन् ।
महिलाहरू निस्रो लिएर वनमा गई निस्रो खाँदै रमाइलो गर्ने र पुरुषले दिनभर धनुष काँडा (तारो हान्ने) खेल्ने गर्छन् । साँझ सबै एक ठाउँमा जम्मा भएर ‘ख्याली’ गाउने परम्परा छ । हिजोआज परम्परागत पोसाक लगाएका मगर महिला–पुरुष जम्मा भएर ख्याली गाउँदै र नाच्दै बजार परिक्रमापछि जातीय, सांस्कृतिक तथा भाषागत आन्दोलनको चर्चा गर्दै कार्यक्रम समापन गर्ने गरिएको छ ।