- Loading...
भ्रष्टाचार : कहाँबाट कसले गर्छ ?
- पुनहिल डट कम
- ३ साल अघि
- १२५ पटक पढिएको
“घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्” राष्ट्रनिर्माता पृथ्वीनारायण शाह ।
भ्रष्ट आफैंमा नराम्रो शब्द हो । यसले व्यक्ति तथा संस्थालाई आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र, अपवित्र र दूषित भन्ने बुझाउँछ। त्यसैले भ्रष्टाचारलाई असामान्य हिसाबले सबैले बुझ्ने गर्दछन् । सामान्यतया भ्रष्टाचार भन्नेबित्तिकै आर्थिक हिनामिनाको पाटोलाई मात्र बुझ्ने गरिन्छ । भ्रष्टाचारलाई आर्थिक पक्षलागायत सबैखाले अनुशासनहीन आचरण र अपवित्र कार्यका रुपमा बुझ्नु जरुरी छ ।
हाम्रो समाजमा व्यक्तिगत फाइदाका लागि कसैकोमा गएर वा होटलमा लगेर खाना खाने वा खुवाउने कार्यबाट अनुशासनहीन कार्यको प्रारम्भ हुने गर्दछ । भ्रष्टाचारको थालनी त्यही हो । चिया तथा एक छाक भात खुवाएर काम लिनु । प्रलोभन वा पद शक्तिको दुरुपयोग गरी काम लिने/दिने । सामग्री खरिद गर्दा बिल नलिने परिपाटी आदि सबै सबै भ्रष्टाचारका अंश तथा मतियारी हुन् ।
कुनै नेताले कार्यक्रम गर्नका लागि होटल वा पार्टी प्यालेसमा निःशुल्क कार्यक्रम गर्यो भने त्यहीँबाट भ्रष्टाचार सुरु हुन्छ । यस्तै कुनै व्यवसायीले नेतालाई कार्यक्रम गर्न दिएको जतिसुकै रकम किन नहोस् । यी र यस्ता सबैखाले गलत आचरण नै भ्रष्टाचार हो ।
भ्रष्टाचार नेता, कर्मचारी र व्यवसायीबाट मात्र होइन । पत्रकार, नागरिक समाजबाट पनि दिनानुदिन भइरहेको छ । नेताले होटलमा निःशुल्क कर्यक्रम गर्दा जुनस्तरको भ्रष्टाचारको थालनी हुन्छ, सोहीस्तरको नागरिक समाजका अगुवाले पनि कुनै होटलमा गरिएका निःशुल्क कार्यक्रमबाट पनि हुन्छ । नागरिक समाजका अगुवाको पहुँचका आधारमा उनीहरुले पनि भावी दिनमा अनुशासनहीन कार्य गराउन अहंम् भूमिका निर्वाह गर्दछन् ।
अहिलेका नागरिक समाजका अगुवा भनिएका पनि कुनै बेला कुनै अचूक पार्टीका नेता थिए । उनीहरु पार्टीका चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए । गैरसरकारी संस्थामार्फत राष्ट्रको नीति र नियमावलीभन्दा बाहिरबाट अपारदर्शी रुपमा अर्बौं विदेशी रकम अपचलन गरेका धेरै उदाहरणहरु पाइन्छ । जसको पहुँच राजनीतिज्ञ, व्यापारी र कर्मचारीका उच्च पदस्थसँग सहज भएबाटै उनीहरुबाट लाखौं करोडौं अपारदर्शी आर्थिक गतिविधि गरिरहेका छन् । भोलि आफ्नो समर्थन गरेको पार्टी सत्तामा पुगेका बेला यिनै नागरिक समाजका कथित अगुवा र बुद्धिजीवी अघिल्लो पक्तिमा रहेर राज्यको सेवा सुविधा उपयोग गर्न पुग्छन् । यसलाई हामीले नजरअन्दाज गरे डरलाग्दो भ्रष्टाचार हो ।
उपल्लो तहमा पुगेका विज्ञ, सचिव, सहसचिव, महानिर्देशक पदबाट बिदा लिएका पूर्वकर्मचारी, सरकारी नियुक्तिमा माथिल्लो ओहोदामा पुगेका योजना आयोगदेखि मानव अधिकार आयोग वित्तीय संस्थाको नेतृत्व गरेकाले आप्mनै वा आप्mना परिवारको नाममा गैरसरकारी संस्था पहुँचको आधारमा राज्य दोहन गरिरहेका छन् ।
यहाँ बहालवाला मन्त्रीदेखि सरकारी कर्मचारी, पत्रकार, विभिन्न आयोगका माननीयहरु सबैको आफ्नै गोजीमा कन्सल्टेन्सीदेखि गैरसरकारी संस्थासम्म छन् । यिनै संस्थाका आफ्नो पदको दुरुपयोग गरी कार्यक्रम लैजाने र अर्बौं रकम अपचलन भइरहका छन् । पहुँचको आधारमा राज्यको स्रोतको दुरुपयोग गर्दै प्राथमिकतालाई नै तोडमोड गरिरहेका छन् । आवश्यकता र जनचाहनाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि शक्तिको प्रयोगमात्र होइन, अपारदर्शी आर्थिक अपचलनलाई बढवा दिएका छन् । यी र यस्ता विषय सामान्य जनताका नजरमा परिरहेका छैनन् । यस्ता कार्यबाट संरचनागत विभेददेखि आर्थिक र सामाजिक रुपमा अक्षम्य क्षति पुगिरहेको हुन्छ । यो आर्थिक, सामाजिक र संरचनागत भ्रष्टाचार हो ।
त्यसैले यहाँ भ्रष्टाचारको पाठ पढाउने संघसंस्था तथा नागरिक समाजदेखि नेपाल सरकारको कोस तथा लेखा नियन्त्रण कार्यालयसमेत भ्रष्टाचारका प्रमुख अखडा बनेका छन् । भ्रष्टाचारको आलेख र समाचारहरु आफूले चाहेजस्तो नभएबाट बाहिर निस्कनु आफैंमा सबैभन्दा डरलाग्दो भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा कतिसम्म लतपतिएका छौं भन्न टाढा र ठूलो रकममा जानै पर्दैन । कुनै कार्यक्रममा सहभागी हुन जाँदा आफ्नै संस्था वा सरकारी गाडी प्रयोग गर्नेले उक्त संस्थाबाट यातायात खर्च लाज÷घिनबिना दस्तखत गरेर लिन्छौं । जहाँ केही समय अगाडि आर्थिक अनुशासनको पाठ सिकाउने व्यक्ति स्वयम् । दैनिक यातायात खर्च र खाना खर्चबापत रकम बुझेर गएको व्यक्ति यात्राका क्रममा आफ्नो पैसा खर्चै नगरी अरुकोमा मोजमस्ती गरेर फर्कन्छ । यस्तो अवस्थामा भ्रष्टाचारले हाम्रो समाजमा नराम्रो जरा गाडेको प्रष्ट हुन्छ ।
ठेक्का दिलाउने र मिलाउने नाममा भ्रष्टाचार, काम मिलाउने तथा सरुवा बढुवामा भ्रष्टाचार । यी र यस्ता कार्य अब भ्रष्टाचार हैन दैनिकी भइसकेका छन् । बाटोमा ठेला राख्नेदेखि व्यवसाय गरेर खाने जुनसुकै स्तरको व्यक्ति किन नहोस् उसले आफ्नो कमाइको केही रकम भ्रष्टहरुलाई नछुट्याए, ऊ भोलिका दिन आप्mनै ठाउँमा सुरक्षित व्यापार गर्न सक्दैन ।
जनप्रतिनिधिदेखि कर्मचारी र चुल्ठेमुन्द्रेहरु सबै आफ्ना ठाउँमा आफ्नो स्तरको भ्रष्ट भइसकेका छन् । एक हजारदेखि एक कप चिया वा मासु र भात भए पनि अनिवार्य छ कुनै काम सम्पन्न गर्न । समुदायमा विद्यालय बनाउन ठेक्का पारेर गएको एक जना व्यवसायीले स्थानीय (टोले) केटाहरुलाई केही हिंसा अनिवार्य बुझाएन भने उसले आफ्नो काम सम्पन्न गर्न सक्दैन । आदि आदि ।
पछिल्लो परिवेशसँगै नेपालका राजनीतिक दलहरुको सक्रियता बढेको छ । हरेक चोक, गल्ली र सहरहरुमा भेला भेटघाट नाराबाजी दैनिकी भइरहेको छ । अनुमान लगाउन सकिन्छ, अहिले राजनीतिक दलहरुको सक्रियतासँगै आर्थिक गतिविधि पनि व्यापक बढेको छ । तत्कालीन नेकपाको बैंक खाताहरु रोक्का छन् । तर पनि कार्यक्रम हिजोका दिनहरुमा भन्दा व्यापक देखिन्छ । यसको खर्चको पारदर्शिता के हो ? होटलहरुले सित्तैमा हल र खाना खुवाए होलान् । यातायात खर्च कसरी व्यवस्थापन भए ? अहिले नेताका फोनको भरमा होटल उपब्ध गराउने व्यापारीको व्यावसायिक स्वार्थमा भोलि कुन स्तरको अनुशासनहीन काम गर्न नेताहरु पुग्लान् हामी सहजै अनुमान लगाउन सक्छौं । यी र यस्ता सबै गतिविधि भ्रष्टाचारका आधारस्तम्भ हुन् । यसबाट नेपालका पार्टीका नेता तथा कार्यकर्ता, कर्मचारी वृत, नागरिक समाज, सामाजिक संघसंस्था र संचारजगत अनि व्यवसायी कोही पनि अछूतो छैन ।
हामीले ठूला भ्रष्टाचारका विषयलाई मात्र प्राथमिकतामा राख्यौं । नीतिगत भ्रष्टाचारलाई नजरअन्दाज गर्यौं । आफैं भ्रष्टाचारको अंग भएको ख्यालै गरेनौं । कर तिर्न कसरी हुन्छ घूस खुवाएर थोरै रकम तिर्दा आफूलाई महान सम्झौं । आवश्यक काजगपत्रबिना कर्मचारीलाई नेताको फोन गराएर वा नाम लिएर काम गराउन सफल हुँदा आपूm निकै सफला भएको अनुभूति गर्यो ।
अस्पतालमा लाइन नबसी फोन गरेर सबैको पालो मिच्दै अगाडि जाँदा आफूलाई ठूलो मानिस भएकोमा गौरव गर्यौं । नेतासँग हिड्दा सधंै उसैको पैसामा हिंड्दा नेतालाई पैसा कहाँबाट आउँछ भन्ने कहिल्यै प्रश्न गरेनौं । उद्योग व्यवसायीसँग सधैं सहयोग रकम माग्यौं । उद्योगबाट उत्पादनको गुणस्तर भन्दा हामीलाई उसले खुवाएको खाजा र सहयोग रकम महत्वपूर्ण भयो । यसरी हरेक नागरिक भ्रष्टाचारका हिंस्सेदार बन्न पुगेका छौं ।
माथि उल्लेखित दृष्टान्तबाट भ्रष्टाचार हाम्रो समाजमा संस्कृतिका रुपमा मौलाउँदै गएको डरलाग्दो विकृति हो । जुन देश विकास र समाज परिवर्तनका लागि बाधक हो । यसलाई सही बाटोमा ल्याउन समाजका हरेक नागरिकले आफ्नो बानीव्यहोरा समीक्षा गरी अरु प्रति निगरानी बढाउन जरुरी देखिन्छ । सचेत नगरिकले आफ्नो दायित्वः नियम र कानुनको दायरामा रही अनुशासित र जिम्मेवार भई भ्रष्टाचार माथि प्रश्न उठाऔं ।
कतै हामीलाई भ्रष्टाचारको पाठ सिकाइरहने व्यक्ति आफैं सबैभन्दा भ्रष्ट त छैन । उसका गतिविधिमा पनि प्रश्न गरौं । भ्रष्टाचारका सबै खाले सञ्जाललाई नजिकबाट नियालौं । सानो वा ठूलो होइन, सबै अनैतिक कामविरुद्ध आवाज उठाऔं । आफूदेखि घर, परिवार, समाज, समुदाय हुँदै पालिका, प्रदेश र संघसम्म आवाजहरु बुलन्द पारौं । सभ्य र सम्पन्न राज्य निर्माणमा सबै जुटौं । source – khullanepal.com, photo – indiatoday